काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने प्रवल सम्भावना रहेको बताएका छन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतको अनुगमनपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उपसभापति खड्काले यस्तो बताएका हुन्।
सुर्खेत क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका उपसभापति खड्काले नेपाली कांग्रेस अहिले पाटीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफलमा रहेको बताए ।
उनले भने, ‘पाटीमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल भईरहेको छ । पार्टीले आफ्नो दलबाट राष्ट्रपतिको उम्मेदवार उठाउने र नेपालका सबै दलहरूसँग छलफल गरेर राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपति चयन गर्ने कसरत पनि गरिरहेको छ । राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए पनि कांग्रेसकै उम्मेदवार राष्ट्रपति निर्वाचित हुने सम्भावना बढी छ।’
उनले निर्वाचनका बेला गठबन्धन गरेको माओवादीले राष्ट्रपतिको निर्वाचनमा कांग्रेसलाई सहयोग गर्छ कि गर्दैन भन्ने विषयमा बोल्न चाहेनन् । तर पनि राष्ट्रपतिको निर्वाचनमा अहिलेकै सत्ता गठबन्धनका आधारमा परिणाम नआउने संकेत उनले गरे ।
उनले भने, ‘हामी अहिले छलफलमै छौँ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारबारे पार्टीले निर्णय गरिसकेको छैन । राष्ट्रपतिको निर्वाचनमा कुन दलले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने नगर्ने विषयमा बोल्न हतार हुन्छ । तर यति बुझ्नुस् कांग्रेसले नै उठाएको उम्मेदवार राष्ट्रपति हुनेमा म विश्वस्त छु।’




















