काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता भन्ने विषय छुट्टै बनाउन नपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आमसञ्चार पर्यवेक्षण प्रतिवेदनमाथिको छलफल कार्यक्रममा थपलियाले निर्वाचन आचारसंहिता लगाएतका बिषय ऐनमा राखिदिए आचारसंहितालाई छुट्टै बिषय बनाउन नपर्ने बताएका हुन ।
थपलियाले सामाजिक सञ्जाललाई नियमन गर्न नीति बनाइएपछि निर्वाचन व्यवस्थापनमा सुधार हुँदै गएको पनि बताएका छन् । उनले निर्वाचन अगाडि सामाजिक सञ्जालमध्ये फेसबुक र टिकटकसँग सहकार्य नै गरेर काम गर्दा सहज भएको दावी गरेका छन् ।
थपलियाले निर्वाचनका बेला प्रकाशन र प्रसारण हुने हुने अनधिकृत बिषयहरुलाई अनुगमन गर्न प्रविधिको सहायता लिनुपर्ने अवस्था आएको धारणा राखेका छन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपाललका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनलाई मिथ्या, भ्रामक सूचना नियन्त्रण गर्नका लागि संयन्त्र नै बनाएर काम गरेकाले निर्वाचनमा सकारात्मक नतिजा आएको बताए ।



















