काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ओली प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।
भेटवार्तामा समसामयिक राजनीतिका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको निर्वाचन, प्रदेशमा मन्त्री परिषद् विस्तार, राष्ट्रिय सभा उपनिर्वाचन लगायतका विषयमा छलफल भएको बताइएको छ।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको लागि बुधबार सत्तारुढ दलको तर्फबाट एमालेले कुमार दसौदी र नेपाली कांग्रेसले माधवप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ। लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गराएका छन् । नागरिक उन्मुक्ति सत्ता गठबन्धनमा आबद्ध रहेपनि रेशम चौधरीलाई नछुटाएको भन्दै उम्मेदवार बनाएको हो ।




















