डडेल्धुरा । डडेल्धुरामा अत्याधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।
सोमबार साँझदेखि परिवर्तन भएको मौसमसँगै मंगलबार बिहानैदेखि भएको वर्षातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो। मौसममा बदली आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ ।
चिसोले गर्दा बिहान बेलुका दैनिकी काम गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ। चिसोबाट जोगिन स्थानीयहरु अहिले आगो तथा हिटर बालेर बसिरहेका छन। मंगलवारदेखि भएको लगातारको झरीका कारण चिसो बढेर घरबाहिर निस्कन समस्या भएको छ भने बालबालिकाको पढाइसमेत प्रभावित भएको स्थानीय हरि साँउदले बताए ।
जिल्लाका केही स्थानमा हिजोदेखि नै हिमपात भएको र केही स्थानमा आज हिमपात भएको जनाइएको छ। जिल्लाको उच्च लेकाली भेगमा हिमपात भएपछि चिसो बढेको स्थानीय बताउँछन्। वर्षा र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ, भने टोल टोलमा स्थानीयवासी चिसोबाट बच्न आगो ताप्दै बसिरहेका छन्। जिल्लाका ग्रामीण क्षेत्रमासमेत चिसो बढेको छ भने दैनिकी पनि प्रभावित भएको स्थानीय गणेश पाठक बताउँछन् ।
चिसोमा भाईरस सक्रिय हुने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने र लगातार रूघाखोकी लागेमा वा स्वास्थ्यमा थप समस्या आएमा नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
चिसो समयमा बढी जसो बालबालिकाहरूमा रूघाखोकी, निमोनिया लगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनु पर्ने चिकित्सकको भनाइ छ। चिसोको समयमा भाइरस सक्रिय भएर बालबालिका र बृद्धबृद्धाहरूलाई असर पार्ने भएकोले चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो, झोलिलो खानेकुरा खानु पर्ने र सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ ।
वर्षा र हिमपातले यहाँका किसान भने हर्षित भएका छन्। लामो समय खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन्। लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसानहरु बताउँछन् ।