सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधार ९ बमोजिम मुख्यमन्त्री शर्माले ७ सदस्यीय मन्त्रीपरिषदमा थप चार जना मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन् ।
थप हुने मन्त्रीमा नेकपा माओवादीबाट २ र नेकपा एमालेबाट २ जना छन् । मुख्यमन्त्री शर्माको मन्त्रीपरिषदमा एमालेबाट विनोदकुमार शाह आर्थिक मामिला तथा योजना मन्त्री, टेकराज पछाई सामाजिक विकास मन्त्री, शेरबहादुर बुढा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् ।
यस्तै माओवादी केन्द्रबाट मंगलबहादुर शाही भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत मन्त्री, कृष्ण जिसि आन्तरिक मामिला तथा कानूनमन्त्री भीमप्रकाश शर्मा भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
माओवादी संसदीय दलका नेता समेत रहेका शर्माले मुख्यमन्त्री नियुक्त भएको १५ दिनपछि मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् ।
मुख्यमन्त्री शर्माले यसअघि गत पुस २८ गते एमालेबाट विनोद कुमार शाह र नेकपा माओवादी केन्द्रबाट मंगलबहादुर शाहीलाई विना विभागिय मन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुले आजै साझ ६ बजे प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।