काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दामा संवैधानिक इजलासमा बहस सुरू भएको छ । मुद्दामाथि सुनुवाइ गर्न कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन भएको छ ।
यसअघिको इजलासमा रहेका न्यायाधीश प्रकाशमानसिंह हटेर न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आएका छन् । सर्वोच्चले रिट निवेदन उपरको सुनुवाइ स्थगित नहुने गरी लामिछानेको मुद्दामा आजबाट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ गर्न लागेको हो ।
इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा रहेका छन्। अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गरी नेपाली राहदानी बनाएको लामिछानेमाथि आरोप छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले २०७५ असार ६ गते अध्यागमन विभागमा आफूले अमेरिकी नागरिकता त्यागेको जानकारी गराउँदै कागजात पेस गरेका थिए । मंसिर १२ गते गृह मन्त्रालयले लामिछानेको नागरिकता सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा छानबिन गर्न पत्र पठाएको थियो। सोसम्बन्धी फायल पनि सम्बन्धित प्रहरी कार्यालयबाट ७ दिनभित्र झिकाउन आदेश दिएको थियो ।




















