काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले अहिले मुलुकको आर्थिक अवस्था नाजुक रहेको भन्दै चालु आर्थिक वर्षका लागि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सरकार प्रयासरत रहेको बताएका हुन ।
अर्थतन्त्रमा अनेकौँ चुनौती भोग्नुपरेको भन्दै उहाले यसको समाधानका लागि आवश्यक काम गर्न बाँकी रहेको मन्त्री पौडेलले बताएका छन् । उनले सार्वजनिक संस्थानमा सरकारका तर्फबाट कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पारेका छन् ।
मन्त्री पौडेलले सार्वजनिक खर्च कटौतीलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै संस्थानले पनि खर्चमा मितव्ययिता अपनाउनुपर्ने बताए ।
त्यस्तै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी वाणिज्य बैंकहरु मर्जरमा गएको भन्दै सरकारी बैंकहरुले पनि सोच्ने बेला आएको बताएका छन् । सरकारी बैंकको केही क्षेत्रमा गएको कर्जा गलत प्रयोग भयो कि भन्ने आशंका जन्मिएको पनि अधिकारीले बताएका छन् ।
वार्षिकोत्सवका अवसरमा बैंकले आरबीबी डिजिटल संसार सेवासमेत शुरु गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८÷७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी रू १५ अर्ब ६३ करोड छ ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले खराब कर्जा व्यवस्थापन गर्ने बैंकको मुख्य एजेन्डा रहेको बताएका छ्न् ।
चालू आवको दोस्रो त्रैमासिकमा खराब कर्जा घटाउन बैंक सफल भएको छ। पुस मसान्तसम्म बैंकको खराब कर्जा घटेर २.७९ प्रतिशतमा झरेको छ। साथै बैंकले घोषण गरेको लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति पाएको श्रेष्ठले बताए ।
बैंकले गत वर्षको मुनाफाबाट १२.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । सो लाभांश वितरण गर्न राष्ट्र बैंकले अनुमति दिएको हो ।
बैकले पुँजी वृद्धि योजनाअनुरुप अर्थ मन्त्रालयबाट ३ अर्ब थपेर पुँजी १५ अर्ब ६३ करोड पुर्याएको छ। उनले अन्य बैंक मर्ज भएर ठूलो भइरहेको अवस्थामा यस बैंकले आन्तरिक छलफल गरिरहेको बताएका छन् ।