बाजुरा । सुदूरपश्चिमको बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको भुकम्पका कारण बाजुरा विभिन्न ठाउँमा गरी २५ भन्दा बढी घर आंशिक र पूर्ण रुपमा क्षति भएका छन् ।
बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्यामा केन्द्रबिन्दु बनाएर गएको भुकम्पका कारण एक जनाको मृत्यु भएको छ । गौमुल गाउँपालिका वडा न– २ की जमुना रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जंगलमा घाँस काटीरहेको बेला मंगलबार दिउँसो एक्कासी भुकम्प जाँदा माथिबाट ढुंगा खस्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ । घटना भएको भनिएको ठाउँमा प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले जानकारी दिए ।
स्थानीयले दिएको जानकारी अनुसार अपुष्ट खवर भएकोले यस बिषयमा प्रहरीको टोली घटना स्थलमा पुगेर जानकारी गराउने उनले बताए । भुकम्पका कारण भेडा चराउन गएका गौमुल गाउँपालिका वडा न– १ का एक जना घाइते भएका छन् । जंगलमा भेडा चराउन गएका बेला माथिबाट भिर फुटेर पहिरो जाँदा ४० देखि ५० वटासम्म भेडा मरेको अनुमान गरिएको छ भने गोठालो गएका रामदल बोहरा घाइते भएको त्यहाँका स्थानीय बासीन्दाले जानकारी दिएका छन् ।
स्थानीय सुवास रोकायाका अनुसार घाइते रामदलको स्वास्थ्य संस्थामा अहिले उपचार भइरहेको छ ।
यस्तै बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा न– ५ मा दुईवटा छाना भत्किएको र गिठे लुहारको घर भत्किएको जानकारी प्राप्त भएको छ । मष्टेश्वरी माविको भवन भत्केको गाउँपालिकाले जनाएको छ । सोही गाउँपालिका ४ का कल्चु सार्की र गोपाल दमाई का घर भत्किएको वडा अध्यक्ष दल रावतले जानकारी दिएका छन् ।
जिल्लाभर भुकम्पका कारण भएको क्षतिको यकिन विवरण अझै आउने क्रम जारी रहेको र घटना घटेको ठाउँमा तत्काल प्रहरी टोलीले उद्धारको काम गरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।