धनगढी । आज दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा एक दर्जन घरमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ।
बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलनमा समेत समस्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ ।
हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन् । अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको बताइएको छ ।
वर्षासँगै हिमपात भएका कारण टेलिफोनको नेटवर्क नहुँदा क्षतिको विवरण प्राप्त गर्न कठिनाइ भएको बताइएको छ ।
भूकम्पको झट्का महसुस भएका क्षेत्रका भौतिक संरचना सामान्य चिरा परेका छन् । बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन पनि भत्किएको छ । जिल्ला अस्पताल बझाङको भवन पनि चर्किएको छ।
चैनपुरमा रहेको एउटा घरको चौथो तलामाथि निर्माण गरिएको मन्दिर पनि भत्किएको छ। बझाङमा केही अन्य घरहरुमा पनि क्षति पुगेको छ।