काठमाडौं । एक लाख ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेका त्रिभुवन विमानस्थलस्थित आन्तरिक टर्मिलन व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडालको कार्यकक्षमा रहेको दराजमा स्रोत नखुलेको आठ लाख रुपैयाँ र नौ बोतल मदिरा भेटिएको छ ।
विमानस्थलको आन्तरिक टर्मिनलसम्म आवतजावत गर्न पाउने पास उपलब्ध गराएबापत मासिक १० हजारका दरले घुस लिने गरेको उजुरी परेपछि अख्तियारको टोलीले सोमबार छापा हान्दा चुडाललाई घुससहित कार्यकक्षबाटै पक्राउ गरेको थियो ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार हवाई टिकट काटिदिएका यात्रुहरुलाई आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिए वापत प्रतिमहिना १० हजारका दरले २०७८ कात्तिकदेखि १५ महिनाको एकमुष्ट एक लाख ५० हजार रुपैयाँ लिएको अवस्थामा चुडाल पक्राउ परेका हुन ।
नियन्त्रणमा लिइसकेपछि चुँडालको कार्यकक्षमा थप अनुसन्धान गर्दा कार्यकक्षमै रहेको स्टिलको दराजभित्र स्रोत नखुलेको ८ लाख रुपैयाँ वरामद गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले सो दराजबाट ब्ल्याक लेबल ५ वटा, डबल ब्ल्याक लेबल १ वटा, चिभास रिगल १ वटा, ग्लेनफिड्च १ वटा र गुर्खाज एन्ड गन्स १ वटा वरामद गरेको छ ।
झापाको बाह्रदसी गाउँपालिका ६ रुप्चनवाडी घर भइ हाल काठमाडौंको सिनामंगल बस्दै आएका चुँडाल लामो समयदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय अन्तरिक टर्मिनल ब्यवस्थापन शाखामा कार्यरत थिए ।
चुँडालको साथबाट उनले प्रयोग गर्ने सामसङ मोबाइल १ थान, अन्य मोबाइल ४ थान र डायरी पनि बरामद गरिएको अख्तियारले जनाएको छ ।

























