काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार विस्तार गरेको मन्त्रिपरिषद्मा नयाँ अनुहारको बाहुल्यता रहेको छ । आफूले जिम्मेवारी पाएको २२ दिनपछि प्रचण्डले गरेको मन्त्रिपरिषद्मा नयाँ अनुहारले प्रवेश पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल विस्तारमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र दुई राज्यमन्त्री थपिएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्री रहेका छन् ।
यसैगरी माओवादी केन्द्रबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यस्तै, माओवादी केन्द्रबाट सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री बनेकी छिन् ।
यसैगरी नेकपा एमालेबाट डा.विमला राई पौडेलले परराष्ट्रमन्त्री र पदम गिरी स्वास्थ्यमन्त्री भएका छन् । एमालेबाट नै हरि उप्रेतीलाई रक्षा, ज्वालाकुमारी साह कृषि र दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाइएको छ भने भगवती चौधरीलाई महिला तथा बालबालिकामन्त्रीको जिम्मेवारी दिइएको छ ।
राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष विक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान नियुक्त भएका छन् । राप्रपाबाटै दीपक सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल श्रम र शिशिर खनाल शिक्षामन्त्री नियुक्त भएका छन् । यस्तै, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएकी छिन् ।
यसरी एमालेले आठ, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच, रास्वपा र राप्रपाले तीन-तीन मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्री पाएका छन् ।
सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्रीमा प्राथमिकता दिएका छन् । नयाँ दलका रूपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्र होइन पुराना दलहरूले पनि नयाँलाई अवसर दिएका छन् । अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलोपटक मन्त्रालयको काम सम्हाल्ने अवसर पाएका हुन् । मन्त्री बनेका विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, विक्रम पाण्डे र रेखा शर्माबाहेक अधिकांश नयाँ अनुहार देखिन्छन् । चारजना उपप्रधानमन्त्रीमध्ये दुईजना नयाँ अनुहारका हुन् । मंगलबार विस्तार भएको मन्त्रिमण्डलमा माओवादीबाट सुदन किराती, अमनलाल मोदीले पहिलोपटक मन्त्रीको अवसर पाएका हुन् । एमालेबाट राजेन्द्रकुमार राई, पदम गिरी, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती र विमला राई पौड्यालले पनि पहिलोपटक मन्त्री बन्ने अवसर पाएका हुन् ।
यसैगरी, राप्रपाबाट राजेन्द्र लिङ्देन, ध्रुवबहादुर प्रधानले पनि पहिलोपटक मन्त्रालयको नेतृत्व सम्हालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमा शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल पनि पहिलोपटक मन्त्री बनेका हुन् ।
राजनीतिक विश्लेषक आनन्दराम पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ अनुहार धेरै आएको हुनाले आशा गर्ने ठाउँहरू स्वाभाविक रूपमा धेरै रहेको बताएका छन् । उनले भने, ‘मन्त्रिमण्डलमा नयाँ अनुहार धेरै आएका हुनाले आशा गर्ने ठाउँहरू स्वाभाविक रूपमा धेरै नै छ । जनताको चाहना पनि थियो । पछिल्लो निर्वाचन परिणामले पनि पुरानालाई विस्थापित गर्नुपर्छ भन्ने भाव देखाएको थियो । नयाँ पुराना सबै पार्टीबाट नयाँ अनुहार आएका छन् । पक्कै पनि आशाका किरण छन् । गरेपछि थोरै पनि गर्न सकिँदो रहेछ भन्ने कुरा काठमाडौंमा बालेन र काठमाडौंबाहिर पनि केहीले देखाएका छन् ।’ नयाँ र जुझारु नेताहरूतर्फ निर्वाचनको रुझान भए पनि सत्तामा पुरानाकै हालिमुहाली रहेको भन्दै उनले भने, ‘जति नयाँ आए पनि सत्तामा पुरानाकै हालिमुहाली छ । बालेनलाई पनि चौतर्फी घेराबन्दी भइरहेको छ । यस्ता चुनौती नयाँलाई पनि हुनेछन् । आशा गर्ने ठाउँ छ । अरू पुराना त सडेका र गन्हाएका छन् ।’ हरेक ठाउँमा समावेशिता खोज्न आवश्यक नरहेको बताउँदै उनले भने, ‘हरेक ठाउँमा समावेशिता खोज्न आवश्यक छैन । कृपा गर्ने काम गलत हो । यसमा रुवाबासी आवश्यक छैन । मान्छेलाई राज्यले योग्य र हरेक क्षेत्रमा प्रतिस्पर्धायोग्य बनाउनुर्छ ।’