काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका दामोदर भण्डारी निरन्तर चुनाव जित्दै आएका एमालेका नेता हुन । अर्थ राज्यमन्त्रीको समेत भूमिका निर्वाह गरिसकेकाले अनुभवी भण्डारीले २०७० र २०७४ सालमा समेत सांसद थिए । गत निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गरेका थिए ।
मन्त्री भण्डारीको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष समेत रहेका छन् । उनको पृष्ठभूमि हेर्ने हो भने २०४८ सालमा अनेरास्ववियू बैतडी जिल्ला कमिटीको अध्यक्ष भएका थिए ।
त्यस्तै राजनीतिक यात्राको क्रममा उनी २०५० मा एमालेको बैतडी जिल्ला कमिटी सदस्य बनेका थिए । २०७५ सालमा नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बनेका थिए ।
उनले आज मन्त्रीको पदभार ग्रहण गर्ने समयमा समेत बैतडीका जनतालाई सम्झिँदै उनीहरुप्रति उच्च सम्मान रहेको बताएका छन्।
३ पटक निर्वाचित गराएको र यहाँसम्म ल्याउन बैतडीका जनताको नै हात रहेको र उनीहरुको जनभावनालाई उच्च कदर गर्ने र उनीहरुको सपनालाई समेत ध्यान दिने बताएका छन् ।
मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले अहिलेको परिस्थिति तथा चुनौतीहरुलाई सम्भावनाको रुपमा अघि बढाउने दायित्व आइपरेको बताएका छन् । उनले वस्तु आपूर्तिको व्यवस्था, उद्योग धन्दाको सुधार गर्ने विषय जोड दिएका छन् ।
उनले विशिष्ट परिस्थितिमा नयाँ जनादेशबाट बनेको सरकारले साझा मुद्दामा सहमति गरेर सत्ता साझोदारहरुसँग छलफल गर्ने बताएका छन्।
नेपाली वस्तुहरुको बजार पहिचान र विश्वबजारको सुनिश्चितता समेत प्रमुख प्राथमिकता रहने उनको भनाइ छ। सेवामा रहँदा चुनौती र जिम्मेवारी मनन गर्दै समस्या समाधानमा समर्पित हुने अवसर रहेको उनले बताएका छन् ।