धनगढी । सुदूरपश्चिममा सत्तारूढ गठबन्धनका भीम भण्डारी सभामुखमा निर्वाचित भएका छन् । माओवादी केन्द्रका भण्डारी तेस्रो पटक भएको मतदानबाट मंगलबार सभामुखमा निर्वाचित भएका हुन् ।
कुल ५३ जना प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो । बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीले २९ मत प्राप्त गरेका हुन् । उनको विपक्षमा भने २३ मत परेको थियो ।
यसअघि रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो ।
कांग्रेसका दिवानसिंह, गिता चौधरी र ललिता सुनार निर्धारित समयमा बैठकमा उपस्थित हुन नसक्दा रावलले तीन मत कम पाएका थिए ।
माओवादीकी लक्ष्मी बिक पनि निर्धारित समयमा प्रदेशसभा भवनमा प्रवेश गर्न नसक्दा रावलको विपक्षमा २८ मत परेको थियो ।
सुदूरपश्चिममा २८ पुसमा सभामुख चयनका लागि पहिलो पटक मतदान भएको मतदानमा भण्डारीले २६ र रावलले २३ मत पाएका थिए ।
दुवै उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा ३० पुसमा पुनः मतदान भएको थियो । त्यसमा नागरिक उन्मुक्ति तटस्थ बस्दा दुवैले २२÷२२ मत पाएका थिए । बहुमत नपाएपछि ज्येष्ठ सदस्य शिवराज भण्डारीले २ माघका लागि बैठक बोलाएका थिए तर सोमबार राष्ट्रिय शोकका कारण बैठक स्थगित गर्दै आज मंगलबारका लागि तोकिएको हो ।