काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको जनाएको छ ।
आइतबार बिमानस्थलमा पत्रकार सम्मेलन गदैै विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौं र पोखराको मौसम पनि सफा रहेको र मापदण्ड पूरा गरेरै उडान भरेको जानकारी दिएका हुन । पोखरा एयरपोर्ट मापदण्ड पूरा गरेर बिहानदेखि खुला रहेको र दुर्घटना हुनु अघि अन्य विमानले पनि उडान भएको उनले जानकारी दिएका छन् ।
पोखरा एयरपोर्ट नजिकै भएको दुर्घटनामाग्रस्त बिमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रुका साथै चार चालक दलका सदस्य रहेको ठाकुरले बताए । महाप्रबन्धक ठाकुरले दुर्घटना अघि पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको पनि बताए ।
विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै ल्यान्डिङ गर्ने तयारीमा रहेको बेलामा दुर्घटनामा परेको ठाकुरले जानकारी दिए । शवको प्रकृति हेरेर शवको पोस्टमार्टम काठमाडौंमा गर्ने कि पोखरमा भन्ने निर्णय लिने उनको भनाइ छ । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।