अत्तरिया । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् ।
उनान्तीस प्रदेशसभा सदस्यको समर्थनसहित सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले) का रावल नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावलले सत्ता गठबन्धनभित्रका ११ माओवादी, १० एमाले, सात नागरिक उन्मुक्ति पार्टी र एक राप्रपा गरी २९ जना सदस्यको समर्थनसहित दाबी पेश गरेका थिए ।
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालोपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भागमा परेको छ ।
माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरिसकेका छन् भने नेपाली कांग्रेसबाट सभामुखमा मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।