काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाईन जुवा लगायत गैरकानुनी काम र आर्थिक अपराधसँग जोडिएका वेबसाइट एप र अनलाइन सञ्जाललाई ‘ब्लक’ गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।
नेपालमा मौद्रिक उपकरणको रुपमा कानूनी मान्यता नदिएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायत डिजिटल प्रविधिको प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएको जनाउँदै प्राधिकरणले सोमबार इन्टरनेट सेवा प्रदायकहरुलाई एक निर्देशन जारी गरेको हो ।
गैर कानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप र अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरु नेपालभित्र प्रयोग, संचालन र व्यवस्थापन गर्न नेपालबाट पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरुलाई निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।























