काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु मुलुकको अर्थतन्त्रसंग महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल निर्यात परिषद्को २५ औं वार्षिक साधारणसभा तथा ७ औं निर्यात दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित निर्यातयोग्य वस्तुहरुको मेला तथा प्रदशनी उद्घाटन गर्दै गोल्छाले अहिले रेमिट्यानन्सको भरमामात्रै अर्थतन्त्र चलिरहेको अवस्थामा निर्यातसम्बन्धी हरेक कार्यक्रमहरु महत्वपूर्ण हुनुपर्ने बताएका हुन ।
उनले सरकारले निर्यातलाई बढावा दिने हरेक कार्यक्रमका साथै आवश्यक नियमावली बनाएपनि निर्यातकर्ताले सुविधाहरु नपाएको गुनासो गरेकाले छिटै यसलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।
गोल्छाले महासंघको भिजन पेपरमा पनि निर्यात बढाउँदै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा जोड दिएको जानकारी दिएका छन् ।
प्रदर्शनी काठमाडौंको छाँया सेन्टरमा दुई दिनसम्म चल्ने परिषद्ले जनाएको छ ।
























