काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । उद्योगी व्यवसायीले मार्गदर्शन कार्यान्वयनमा आए उद्योग व्यवसाय नै सञ्चालन गर्न नसकिने भन्दै आन्दोलन गर्दै आएका छन् भने उनीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरलाई भेटेर तत्कालका लागि यो मार्गदर्शन स्थगित गर्न आग्रह गरेका थिए ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलसँग राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको छलफल पछि राष्ट्र बैंकले संशोधन गरेको हो । संशोधनले पुराना ऋणीहरुलाई राहत दिएको छ । चालू प्रकृतिका कर्जा लिने पुराना ऋणीहरुलाई राष्ट्र बैंकले चालू सम्पत्तिको तुलनामा सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुलाई भुक्तानीको समय २०८२ असारसम्म थप गरिदिएको छ भने पाँच किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी सुविधा थप गरिदिएको छ ।
पछिल्लो समय विदेशी मुद्रा सञ्चिति राम्रो भएको, रेमिट्यान्स पनि बढी भित्रिएको, पर्यटकहरु धेरै भित्रिन थालेकाले अर्थतन्त्र सामान्य अवस्थामा फर्किएको सकारात्मक संकेतबीच राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन परिमार्जन गरेको हो ।
मार्गदर्शन लागू हुनुभन्दा पहिले चालू प्रकृतिका कर्जा लिएकाको ऋण पुनर्तालिकीकरण र पुनर्संरचना गरिएको मानिनेछैन। सीमाभन्दा अधिक कर्जा लिने ऋणीले भुक्तानी २०८० असार मसान्तदेखि सुरु भएर २०८१ असारर पुस र २०८२ असार र पुस मसान्तमा भुक्तानी गर्नुपर्ने संशोधनमा उल्लेख छ।
सीमामाथि रहेका चालू पुँजी कर्जामा थप प्रोभिजन गर्नु नपर्ने र तोकिएको समयभन्दा अगावै भुक्तान गर्नु चाहेमा ऋणीलाई पूर्वभुक्तानी गर्ने पर्ने व्यवस्था लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै आज संशोधन भएको व्यवस्थाअनुसार आवधिक कर्जालाई असार मसान्तपछि लागू गरेर पाँच वर्षभित्र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ। यसअघि रोकिएको कर्जा नवीकरण असार, पुस र चैतमा नवीकरण गर्न सकिने समेत संशोधनमा उल्लेख छ।
राष्ट्र बैंकले ५० लाख रुपैयाँको सीमालाई १ करोड रुपैयाँसम्मको कर्जाका लागि बढाएको छ। १ करोडभन्दा कमको लागि मार्गदर्शनको नियम लागु नहुने व्यवस्था गरिएको छ।
यस्तो छ संशोधित मार्गदर्शन

























