काठमाडौं । नवनिर्वाचित अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र काबुभन्दा बाहिर गइनसकेको बताउँदै लयमा फर्काउने दावी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजानका लागि प्रयास गर्ने बताएका छन् ।
राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्न पत्रकाहरुलाई आग्रह गर्दै मन्त्री पौडेलले सावधानी पूर्वक अघि बढ्यौं भने अर्थतन्त्रमा चाँडै सुधार गर्न सकिने बताएका छन् ।
अर्थतन्त्रलाई ठिक ठाउँमा ल्याउने सबैको साझा सरोकार भएकोले समस्यालाई ठिक ढंगले चिन्ने र यसको उपयुक्त समाधान गर्नुपर्ने मन्त्री पौडेलले बताएका छन् ।
संकटको संघारमा रहेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याएर समृद्धितर्फ उन्मुख गराउन सबै क्षेत्रले सरकारसँग सहकार्य गर्दै एक÷एक वटा ईंटा थप्ने काम गर्न मन्त्री पौडेलले आग्रह गरेका छन् ।
सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नवनियुक्त अर्थमन्त्रीलाई सफल कार्यकालको सुभकामना दिंदै अर्थतन्त्र सुधार गर्न तत्काल गर्नुपर्ने सुझाव पेश गरेका छन् ।
























