काठमाडौं । बुटवलमा कार्यालय खोलेर सञ्चालन गरिएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेको छ । २०५७ सालमा स्थापना भएको सुप्रिम सहकारीको प्रधान कार्यालय बुटवल–९ चौराहामा छ । रुपन्देही र कपिलवस्तुमा कार्यक्षेत्र रहेको सहकारीले बुटवल, भैरहवा र कपिलवस्तु, नवलपरासी पश्चिम, दाङलगायतका क्षेत्रबाट ५० जना जति सङ्कलकहरूबाट रकम सङ्कलन गर्ने गरेको थियो ।
वुटवलमा संकलन भएको पैसाको लगानी भने काठमाडौंमा हुने गरेको थियो ।
ग्यालेक्सी टेलिभिजनका मालिक समेत रहेका गितेन्द्रबाबु राई (जिबी) संस्थापक अध्यक्ष रहेको उक्त सहकारीले सर्वसाधरणबाट एक अर्ब बीस करोड रुपैयाँ भन्दा बढी रकम संकलन गरेको र सो रकम काठमाडौंमा ‘मिटर व्याज’ मा लगानी गर्नुका साथै ग्यालेक्सी फोके टिभीमा समेत लगानी गरेको स्रोतको दावी छ ।
उपराष्ट्रपति नन्द बहादुर पुनका पुत्र तथा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन सो सहकारीको सचिव रहेका छन् ।
सो सहकारी समस्यामा परेको खबर सार्वजनिक भएपछि सर्वसाधरणहरु आफ्नो बचत रकम फिर्ता लिन दैनिक भिड लाग्ने गरेको छ ।
सर्वसाधरणको बचत रकम मिटर व्याजमा लगानी गर्दा समयमा बचत फिर्ता हुन नसकेको र ग्यालेक्सी टेलिभिजनले समेत नाफा कमाउन नसकेपछि बचतकर्ताको रकम डुवेको छ । हाल राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर सभापतिका साथै सांसद बनिसकेका रवि लामिछानेले समेत उक्त टेलिभिजनमा सिधा कुरा कार्यक्रम चलाउँथे । उनै लामिछानेलाई लिएर जिवी राईले टेलिभिजन खोलेका थिए ।
२ हजार ५ सय शेयर सदस्य रहेको सहकारीमा १ अर्ब ३० करोड निक्षेप रहेको छ । नेटवर्किङ व्यवसायलाई नेपालमा एक समय अवैध भनेर राज्यले नै मुद्दा चलाएको थियो । राई नेचर हर्बस नामक कम्पनिलाई बस्तुको प्रत्यक्ष विक्री अर्थात ‘डाइरेक्ट सेलिङ’ भन्दै फेरी नेटवर्किङ व्यावसायमा सक्रिय रहेका थिए । सुप्रिम सहकारीका संस्थापक अध्यक्ष राई हाल संरक्षक छन् ।

सहकारी ऐन अनुसार कुनै पनि सहकारी संस्थाले कार्यक्षेत्रभित्र आफ्ना सदस्यभन्दा बाहिरका ऋणीलाई ऋण लगानी गर्न मिल्दैन । तर, सुप्रिम सहकारीले बढी ब्याज असुल्ने नाममा काठमाडौंमा रहेका व्यापारीलाई बिना धितो लगानी गर्दा समस्यामा परेको हो ।
सर्वसाधारणसँग दैनिक बचतको रूपमा रकम संकलन गर्ने र व्यवसायीलाई चर्को ब्याजमा लगाउने कार्यलाई यस क्षेत्रका सहकारी अभियान्ताहरू काठमाडौं शैलीको सहकारी व्यापारको रूपमा व्याख्या गर्दै आएका छन् । सुप्रिम सहकारीले बुटवल बजारबाट मात्रै १ अर्ब २० करोड रुपैयाँ संकलन गरेको थियो । तर उक्त रकम बढी ब्याज पाउने लोभमा सहकारी ऐनविपरीत बिना धितोमा लगानी गरेपछि ब्याजसँगै लगानी समेत डुब्ने अवस्थामा पुगे पछि बचतकर्ताहरु मारमा परेका छन् ।
सुप्रिम सहकारीले असार महिनाअघिसम्म गरेको लगानी संकटमा परेपछि बचत तथा ऋण सहकारी संघको सहजीकरणमा व्यवस्थापनको प्रयास गरिएको थियो । तर बिनाधितो ठूलो रकम काठमाडौंमा लगानी गरिएकोले रकम उठ्न नसकेपछि समस्या बल्झिएको हो ।
आफैंले जम्मा गरेको रकम सहकारीले डुबाइदिन लागेपछि बतचकर्ताहरु चिन्तित भएका छन् । बचतकर्ताहरु आफ्नो लगानी रकम फिर्ता माग्न जाँदा नदिएपछि वचतकर्ताहरुले सरकारीको कार्यालयमा नै तोडफोड समेत गरेका थिए ।
सहकारीले तोडफोडपछि एक सूचना जारी गर्दै कार्तिक २३ गतेदेखि लागू हुनेगरी संस्थाको अर्को सूचना जारी नहुँदा सम्मको लागि प्रत्येक खाताबाट हप्ताको २ दिन भुक्तानी हुने गरी चेक सटही गरिने उल्लेख गरेको थियो । सहकारीले मेगा बैंक, सिटिजन बैंक, ग्लोवल आईएमई बैंक, प्राइम बैंक, गरिमा विकास बैंक र राष्ट्रिय सहकारी बैंक लगायतमा गरी २ करोड रुपैयाँ रहेको र बैंकले प्रतिदिन ९ लाख ९० हजार मात्रै दिने भएकाले पनि समस्या भएको थियो ।
सहकारीले दैनिक १० लाख सम्म रकम फिर्ता गर्ने गरेको छ । सहकारीको तालिका अनुसार सबै बचतकर्ताहरूको रकम फिर्ता पाउन कम्तीमा ५ वर्ष लाग्ने अवस्था देखिन्छ । सहकारीले मङ्सिर २४ गते साधारण सभा गरेर समस्या समाधान गर्ने तयारी गरेको जनाएको छ ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी अध्यक्ष ओम गुरुङले बचतकर्ताहरूको रकम सङ्कलन गरेर प्रवाह गरेको लगानी नउठेपछि बचतकर्ताहरूलाई फिर्ता गर्न केही समस्या भएको स्वीकारेका छन् । उनले भनेका छन् –‘हामीले बढी विश्वास गर्दा यो नियति भागेका हौ । त्यसमा पनि बढी विश्वासका आधारमा बिना धितो लगानी गर्दा समस्या आएको हो ।’
सदस्यहरुका अनुसार सुप्रिम सहकारीका सञ्चालकहरुले जग्गा खरिदमा धेरै लगानी गरेको र पछिल्लो समय जग्गा कारोबार ठप्प भएकाले पनि समस्या आएको बताएका छन् ।
त्यस्तै जिवी राईले काठमाडौंको बानेश्वरमा रहेको कामद सहकारी हडपेर महालक्ष्मी नामको सहकारी बनाएको स्रोतको दावी छ । महालक्ष्मी नामक सहकारीमा अन्य सहकारी पनि गाभेर राईले बचत कर्ताहरुलाई अन्योल बनाइदिएका छन् । कुन सहकारीको बचत, कुनको ऋण, कहाँ छ कार्यालय बचतकर्ताहरु पैसा फिर्ता माग्न कहाँ जाने अन्यौलमा परेका छन् । महालक्ष्मी सहकारीका नाममा संकलन गरिएको रकम पनि जोखिममा परिसकेको स्रोतको दावी छ ।
प्रतिष्ठित टेलिभिजनका मालिक र उपराष्ट्रपतिका पुत्रहरु सञ्चालन गरेको सहकारीको रकम हिनामिना भएपछि सर्वसाधारणले कसरी न्याय पाउँछन् भन्ने प्रश्न उठेको छ ।

























