कैलाली । भारतले एकलौटी रूपमा महाकालीको धार नेपालतर्फ हुने गरी परिवर्तनका लागि बनाइरहेको संरचनाको काम तत्कालको लागि रोकिएको छ ।
नेपाली पक्षको तीव्र दबाबपछि जिल्ला प्रशासन कार्यालय दार्चुलामा दुवै देशका अधिकारीहरूबीच भएको छलफलमा भारतीय पक्षले हाललाई उक्त काम रोक्न तयार भएको हो ।
सोमबार भारत पिथौरागढ प्रशासनका एडीएमसहितका प्रतिनिधि र दार्चुलाका प्रमुख जिल्ला अधिकारीले त्यसबारे छलफल गरेका थिए ।
छलफलमा दुई देशका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर मात्रै काम अघि बढाउने सहमति भएको दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले बताएका छन् ।
डीएसपी पाण्डेयका अनुसार प्राविधिक, स्थानीय राजनीतिक दल र प्रशासनका प्रतिनिधि सम्मिलित संयन्त्र बनाएर त्यसका आधारमा निर्माण गर्ने सहमति भएको छ ।
आइतबार भारतीय पक्षले नदीको बहाव नेपालतर्फ सारेर तटबन्ध बनाउन थालेपछि नेपाली पक्षले त्यसको प्रतिकार गरेका थिए । ढुङ्गा हानाहान हुँदा ४ जना बालक घाइते भएका थिए ।