काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले चालू पूजी मागदर्शन २०७९ को कार्यान्वयन दुई बर्ष स्थगन गर्न माग गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अर्थतन्त्र जोगाउनका लागि चालू पुँजी मागदर्शन स्थगन गर्न माग गरेको हो । अहिले निजी क्षेत्रको लगानी संकुचित भएर राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको महासंघको भनाई छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले दक्षिण एशियामै नेपालको अन्तर्राष्ट्रिय व्यापारमा लाग्ने समय वढी भएर चौतर्फी समस्या भोगिरहेको अवस्थामा मार्गदर्शन तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन् । उनले बैंक वित्तीय संस्थाको आधार दर नघटेसम्म व्याजदर नघट्ने भन्दै ब्याजदर नघट्ने हो भने अर्थतन्त्र जोगाउन कठिन हुने धारणा राखेका छन् । तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र केन्द्रीय बैंक दुवैले पहिल्याउनुपर्नेमा उनले जोड दिएका छन् ।
पुस मसान्तमा पुर्नकर्जा वापतको करिब ६० अर्ब रुपैयाँ बैंक वित्तीय संस्थाहरुबाट फिर्ता जाने अवस्थाका बीच यसबाट तरलता अभाव अझ चर्किने भन्दै कम्तीमा एक बर्ष पुनर्कर्जा नवीकरणको सुविधा दिनुपर्ने अध्यक्ष गोल्छाले बताएका छन् ।
महासंघले अनिवार्य नगद अनुपातलाई एक प्रतिशत विन्दुले कम गर्न सुझाव दिएको छ भने सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अवलम्बन गर्न पनि सुझाव दिएको छ ।
त्यस्तै उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागु गर्न महासंघले माग गरेको छ ।
























