काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उनलाई भोट माग्दै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी बलिवुड अभिनेत्री मनिषा कोइराला घरदैलोमा पुगेकी छिन् ।
मंगलबार बिहान बबरमहलबाट शुरु भएको घरदैलो कार्यक्रममा मिश्रसँगै अभिनेत्री कोइराल विभिन्न ठाउँमा पुगेर मिश्रलाई भेट मागेकी छिन् ।
यसअघि कुनै पनि राजनीतिक दलमा नखुलेकी कोइरालाले यस पटकको निर्वाचनमा राप्रपाका आमसभाहरूमा समेत सम्बोधन गरेकी छिन् । घरदैलोका क्रममा बबरमहलमा आयोजित कोण सभामा कोइरालाप्रति आभार व्यक्त गर्दै मिश्रले भने ‘हामी उम्मेदवारलाई सघाउन र राप्रपाका पक्षमा देशव्यापी जनमत बढाउन यहाँको सकृय भूमिका र योगदानका लागि मनिषा जी प्रति पार्टी र मेरो व्यक्तिगततर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।’