डोटी । डोटीमा मध्य राति भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । मंगलबार मध्य राति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका-३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले बताए ।
डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र सात वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।
यस्तै, सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताए । उनीहरू ६ जनाकै शव निकालिएको प्रहरीले जनाएको छ ।
भूकम्पले सोही वडाका पाँचजना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।
भूकम्पले ठाडागाउँका आठ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर पाँच दशमलब सात म्याग्नीच्यूडको भूकम्प गएको थियो भने मध्य राति दुई बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।