काठमाडौं । सेयर बजार फेरि ओरालोतिर लागेको छ । यस दिन नेप्से परिसूचक ६.४३ अंकले घटेर १९५८.९४ विन्दुमा अडिएको छ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । सो दिन परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको थियो ।
सो दिन २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता सेयर १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६२ रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस दिन नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ। करिब २ महिनापछि सेयर बजारमा २ अर्ब बढिको सेयर कारोबार भएको हो।
गत भदौ ३० गते २ अर्ब १२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसपछि कारोबार रकम निरन्तर ओरालो लागेको थियो।
आज २२४ कम्पनीको ४९ लाख ४४ हजार ०७६ कित्ता सेयर ३५ हजार ११२ पटकको कारोबारमा २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८४ रुपैयाँमा खरिदबिक्री भयो।
आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन । कारोबारमा आएका १३ समूहमध्ये पाँचको सूचक बढ्यो भने ७ को घट्यो । म्युचल फन्डको सूचक १.०६ प्रतिशतले बढ्दा लाइफ इन्स्योरेन्सको ०.५१, इन्भेस्टमेन्टको ०.०१, अदर्शको ०.०६ र ट्रेडिङको ०.१७ प्रतिशतले वृद्धि भयो ।
सूचक घटेका सात समूहमध्ये मनु एन्ड प्रो, नन लाइफ इन्स्योरेन्स र डेभलपमेन्ट बैंकको १ प्रतिशत बढिले मूल्य ओरालो लाग्यो । बाँकी समूहको ०.५९ प्रतिशतसम्म सूचक घट्यो ।
१५ लाख रुपैयाँ बढिको सेयर कारोबार गरी जाल्पा सामुदायिक लघुवित्ती वित्तीय संस्था शीर्षस्थानमा रह्यो । अघिल्लो दिन आइतबार नेष्डो समृद्धि लघुवित्त शीर्षस्थानमा रहेको थियो। सो कम्पनीको १० करोड बढीको सेयर कारोबार भएको थियो ।




















