ललितपुर । ललितपुरको मंगबजारस्थित ‘कात्तिक डबली’ मा भइरहेको ऐतिहासिक कात्तिक नाचको आठौ दिन मुख्य आकर्षणको नृसिंह अवतार हिरण्यकश्यु वध मञ्चन गरिएको छ ।
प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार आइतबार राती उक्त नाँच प्रदर्शन गरिएको हो । नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिएको थियो । नाचमा नृसिंह भएर राजोपाध्याय समुदायको कलाकारले खेल्ने गर्दछन् भनेर हिरयण्कशिपु भएर चित्रकार समुदायको कलाकारले खेल्ने चलन छ ।
यो नाच तान्त्रिक शक्तिमा आधारित नाच भएकोले नाचमा खेल्ने कलाकारहरुले भोकै बस्नु पर्ने लगायतका नियम पालना गर्नु पर्ने संस्कृतिविद्हरुको भनाई छ । तान्त्रिक नाच भएकोले यसरात मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको भीड हुने गर्दछ । यसअघि शनिबार राती बराह अवतार हिरण्याक्ष वध नाच देखाइएको थियो भने कार्तिक २२ गते मंगलबार राती दघि लिला नाँच प्रस्तुत गरि यस बर्षको कात्तिक नाच समापन हुने कातिक नाच संरक्षण समितिले जनाएको छ ।
नेपालको इतिहासमा सबैभन्दा लामो समयदेखि निरन्तर रुपमा सञ्चालन भएको यो नाच नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन् ।