देशभर डेंगु संक्रमण फैलिरहेको छ । नियन्त्रण हुन संकेत नै देखिएको छैन । सरकाका मन्त्री नै डेंगुबाट पीडित बनेका छन् । अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी वीर अस्पतालको सघन उपचार कक्षमा उपचारर गराइरहेका छन् । ज्वरो आउने, टाउको दुख्ने, शरीर गल्नेलगायतका समस्या देखिएपछि राज्यमन्त्री केसी मंगलबार भर्ना भए । अहिले अस्पतालका अधिकांश शय्या डेंगु संक्रमितले भरिएको छ। नागरिक मात्रै होइन मन्त्री नै संक्रमित भएका छन् । तर, नियन्त्रणको प्रभावकारी तयारीमा सरकार लागेकै छैन ।
डेंगु संक्रमणबाट यस वर्ष ५१ जनाको मृत्यु भइसकेको छ । ७७ वटै जिल्लामा डेंगु फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म ४२ हजार ५ सय ४ जनामा डेंगु पुष्टि भइसकेको छ। एडिस एजेप्टी र एल्बोपिक्टस जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण हुन्छ।
अस्पतालहरुमा दसैंपछि पनि उपचारका लागि जाने संक्रमितहरूको संख्या बढिरहेका छन् । शरीरमा प्लेटलेट चढाउनुपर्ने खालका बिरामीहरू अस्पतालमा भर्ना भएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार संक्रमणबाट स्वास्थ्य जटिल नभएका व्यक्तिहरू घरमै बसिरहेका छन् ।
घरबाहिर निस्केर काम गर्ने युवा र वयस्कहरू डेंगु संक्रमणबाट बढी प्रभावित छन् । २० वर्ष माथिका व्यक्तिमा संक्रमण बढी पाइएको छ । बान्ता आउने, टाउको दुख्ने, चक्कर लाग्ने खालका लक्षणहरू लिएर जँचाउन आउनेको संख्या धेरै नै रहेको चिकित्सकहरू बताउँछन् । निको भइसकेका केही व्यक्तिहरूमा ‘जटिल समस्या’ समेत देखिन थालेको चिकित्सकहरू बताउँछन् । निको भइसकेका बिरामीमा राति निद्रा नलाग्ने, पसिना आउने, मुटु ढुकढुक हुने, थकान महसुस हुने, भोक नलाग्नेलगायतका लक्षणहरू पाइएको छ । शारीरिक र मानसिक दुवै खालका समस्या लिएर फलोअपमा अस्पतालमा धाउने बिरामीहरूको संख्या पनि उत्तिकै छ ।
कोरोना संक्रमणको महामारीमा स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइएको थियो । उपचार व्यवस्थापनको विषयमा अन्तरक्रिया, जुम मिटिङलगायतका रचनात्मक कार्य गरिएको थियो । तर, डेंगु संक्रमणको बेला तालिमलगायतका अन्य पूर्वाधार व्यवस्थापनमा बेवास्ता देखिएको छ । कोरोना संक्रमणको महामारीमा झैं डेंगु संक्रमितलाई उपचार व्यवस्थापनमा सरकारको तदारुकता देखिएको छैन । डेंगु संक्रमितका बिरामीलाई उपचारका लागि शय्या व्यवस्थापनमा सकस परिरहेको छ ।
कोरोना भाइरसको संक्रमण कायमै रहेका बेला डेंगु फैलिएकोले आर्थिक र सामाजिक पाटोबाट पनि बिरामीलाई हेर्नुपर्ने गुनासो स्वास्थ्यकर्मीहरुले गरेका छन् । सरकारी अस्पतालमा शय्या नपाएर कतिपय संक्रमित निजी अस्पतालमा पुग्ने गरेका छन् । त्यस्ता संक्रमित चर्को शुल्कको मारमा परेको पाइन्छ । प्लेटलेटको अभाव पनि खड्किएको छ । सिटामोल, प्लेटलेट्सजस्ता आवश्यक कुराहरू सजिलै पाउने व्यवस्था सरकारले गर्नुपर्छ ।
तराई क्षेत्रमा देखिने डेंगु यस वर्ष पहाडी र हिमाली जिल्लामा पनि फैलिएको छ । मुलुकभर फैलिएको डेंगुविरुद्ध पूर्वतयारी, उपचार व्यवस्थापनमा सरकार उदासीन रहेको विज्ञहरू बताउँछन्। सरकारले संक्रमणको चार महिना बितिसक्दा पनि मुलुकभर फैलिएको डेंगुको सेरोटाइप पहिचान गर्न सकेको छैन ।
डेंगुका चार सेरोटाइपमध्ये कुन सेरोटाइप फैलिरहेको छ भन्ने यकिन हुन जरुरी रहेको स्वास्थ्यकर्मी बताउँछन् । आगामी वर्ष डेंगु संक्रमण भएको बेला कुन कुन किसिमको सेरोटाइप देखियो भने झन् जटिल खालको समस्या उत्पन्न हुने उनीहरुको शंका रहेको छ । यसपटक रोग प्रतिरोधात्मक क्षमता विकास भइसकेको हुन्छ । तर, पटकपटक डेंगु संक्रमण भइरह्यो भने झन् जटिलता हुने सम्भावना छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिक रिसर्च युनिट संयोजक डा. पुनका अनुसार, विगतमा डेंगुका चार किसिमकै सेरोटाइप पाइएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालै गरेको परीक्षणमा सेरोटाइप– १ र ३ पाइएको छ । प्रयोगशालामा १२ वटा नमुना परीक्षण गर्दा दुई किसिमको सेरोटाइप पुष्टि भएको हो। तर, काठमाडौंलगायत अन्य जिल्लामा फैलिएको डेंगुको सेरोटाइप कुन हो अन्योल छ ।
डेंगु संक्रमणबारे जनचेतना जगाउने तथा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान (सर्च एन्ड डिस्ट्रोय) पनि सुस्त छ । सरकारले गैरसरकारी संघसंस्था, निजी क्षेत्र र विज्ञहरूसँग समन्वय गर्न नसकेको गुनासो छ ।
संघ, प्रदेश र स्थानीय सरकारको हेलचेक्र्याइँले भविष्यमा समेत चुनौती थपेको विज्ञहरू बताउँछन् । ८ हजार फिटभन्दा माथिको उचाइमा पनि डेंगु फैलिएको छ । भविष्यमा यो डरलाग्दो समस्याको रूपमा देखिने छ । लार्भा नष्ट नगर्ने हो भने डेंगुसँगै अन्य रोग पनि फैलने जोखिम रहेको स्वास्थ्यविज्ञहरुले चेतावनी दिएका छन् ।
डेंगु फैलाउने लामखुट्टे पहाडी र हिमाली क्षेत्रमा समेत पाइएको छ । सरकारले पूर्वतयारीका साथ समयमै लार्भा नष्ट अभियानलाई तीव्रता दिए संक्रमण मुलुकभर फैलनबाट नियन्त्रण हुनसक्ने स्वास्थ्यविद्को दाबी छ । तर सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन ।