काठमाडौँ । एनआईसी एशिया बैंकको नयाँ सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् । गत चैत २० गते सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाको निर्णयानुसार सर्वसाधारण शेयरधनी समूहबाट ४ वर्षको लागि निर्वाचित सञ्चालक निकुञ्ज अग्रवालले राजीनामा दिएपछि बैंकले लम्साललाई नियुक्त गरेको हो ।
अग्रवालको राजीनामा आज सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगाले नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । अर्थशास्त्र एवं बिजनेस एडमिनिस्टे«सनमा स्नातकोत्तरसम्म अध्ययन गरेका लम्साल राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए । बैंकको शेयरधनी समूहबाट सञ्चालकको रुपमा नियुक्त भएको अवसरमा लम्साललाई सफल कार्यकालको कामना गर्दै एनआईसी एसिया बैंक परिवारले हार्दिक बधाई ज्ञापन गरेको छ ।
सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक नियुक्त कैलालीका लम्साल हाल काठमाडौंका बासिन्दा हुन्।
























