काठमाडौँ । आगामी तिहारका लागि तीन लाख सङ्ख्यामा माला आयात गरिने भएको छ । तिहारमा खपत धेरै हुने हुँदा स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा तीन लाख सङ्ख्यामा सयपत्री माला आयात गर्न लागिएको हो । तिहार आउन दुई साता बाँकी रहँदा व्यवसायीले तिहारलाई लक्षित गरेर माला आयात गर्ने तयारी गरेका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यानका) अध्यक्ष मीनबहादुर तामाङले यसपालि तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ४५ हजार सङ्ख्यामा माला खपत हुने अनुमान गरिएको बताए ।
फूलमा मुलुक आत्मनिर्भर भए पनि तिहारमा सयपत्री मालाको खपत धेरै हुने हुँदा माला आयात गर्नु परेको उनले बताए । तिहारमा सयपत्री फूलको मालाबाट ११ करोड करोड रुपैयाँ, मखमली फूलको मालाबाट एक करोड ७० लाख रुपैयाँ र गोदावरी फूलको मालाबाट ८० लाखको कारोबार हुने फ्यानले जनाएको छ । गत वर्ष सयपत्री फूलको मालाबाट नौ करोड ९८ लाख रुपैयाँ, मखमली फूलको मालाबाट एक करोड ४२ लाख रुपैयाँ र गोदावरी फूलको मालाबाट ५२ लाख गरी ११ करोड ९२ लाख रुपैयाँको कारोबार गरेको थियो । गत वर्ष ११ करोड ९२ लाख रुपैयाँ बराबरको २२ लाख ३५ हजार सङ्ख्यामा मालाको खपत भएको थियो ।
यो वर्ष माग १० प्रतिशतले बढ्ने अनुमान गरिएको उनले बताए । एसोसिएसनका अनुसार सयपत्री फूलको प्रतिमाला ५५ रुपैयाँ बिक्री हुने अनुमान गरिएको छ । गत वर्ष पनि सोही मूल्य कायम भएको थियो ।
त्यस्तै मखमली फूलको मूल्य भने गत वर्षको तुलनामा पाँच रुपैयाँले वृद्धि भएको छ । गत वर्ष प्रतिमाला ३५ रुपैयाँ कायम भएकामा यो वर्ष ४० रुपैयाँ तोकिएको एसोसिएसनको भनाइ छ । यस्तै गोदावरी फूलको माला ५० रुपैयाँले बढेको छ । गत वर्ष प्रतिमाला ३५० रुपैयाँ कायम भएको गोदावरी फूलको मूल्य यो वर्ष चार सय रुपैयाँ तोकेको छ ।
























