काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण सेयरमा बिक्री नभएर बाँकी रहेका ५० हजार ३१० कित्तासहित कूल छ लाख ७० हजार ३१० कित्ता सेयर एक सय रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गरेको छ ।
कुल निष्कासित सेयरमध्ये ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीलाई छुट्याई बाँकी छ लाख २३ हजार ३८९ कित्ता सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको आह्वानपत्रमा उल्लेख छ।
लगानीकर्ताले निष्कासन गरेका सेयरमा आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा कात्तिक १४ गतेसम्म समय थप हुने छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका साथै ‘मेरो सेयर’ को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ ।
























