काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका ३ मिलन चोकमा रोकिराखेको अटोमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मोटरसाइकलमा पछाडि सवार स्थानीय ४३ वर्षीया तुलसीकुमारी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक र अटोमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रदेश १ ०५ ००१ प २१८६ नम्बरको मोटरसाइकल बिहीबार साँझ पौने ७ बजे रोकिराखेको स १ ह २०६७ नम्बरको अटोमा मोटरसाइकल ठोक्किएको हो । अटो चालकलाई अस्थायी प्रहरी पोष्ट बगाहा उदयपुरले नियन्त्रणमा लिएको छ ।
यस्तै कञ्चनपुरमा बससँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भीमदत्त–८ तिलाचौरका मोटर साइकल चालक २० वर्षीय सुनिल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–४ चम्मनचोक अगाडि पूर्व–पश्चिम राजमार्गमा सुपप्र ०२–००१ ख ११६१ नम्बरको बस र म १ प ६२७२ नम्बरको मोटरसाइकल गए राति ठोक्किएका थिए ।