ललितपुर । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर क्षेत्र नं २ का बागमती प्रदेश सभाका आकांक्षी उम्मेदवार सरोज डंगोलसहित १५० जनाभन्दा बढी कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् ।
नेकपा एमाले ललितपुरको आयोजनामा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोश्रो संविधानसभामा प्रत्यासी रहिसक्नुभएका डंगोलसहित माओवादी र नेपाली कांग्रेसबाट प्रवेश गरेकाहरुलाई माला लगाई पार्टीमा स्वागत गरेका थिए।
डंगोलसँगै ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट पप्रमुखका उम्मेदवार नेकपा माआवादीका ललितपुर महानगर अध्यक्ष बाबुराजा बज्राचार्य, महानगर कमिटीका वरिष्ठ उपाध्यक्ष आमिर शाखः, माओवादी सहकारी केन्द्रीय विभाग सदस्य तथा ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरी बजगाईं एमाले प्रवेश गरेका हुन् ।
यसैगरी गत स्थानीय तहमा ललितपुर महानगर वडा नं २० का अध्यक्षका उम्मेदवार धनबहादुर महर्जन, वडा नं १६ का अध्यक्षका उम्मेदवार राजेन्द्र शाक्य एमाले प्रवेश गरेका छन् । कार्यक्रममा माओवादीको ललितपुर महानगर कमिटीबाट पदाधिकारी वडा कमिटी अध्यक्षहरु सहित ३० जना नेकपा एमाले प्रवेश गरेका हुन् ।
नेकपा माओवादी ललितपुर सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, कोषाध्यक्ष राजेन्द्र घिमिरे, सदस्यहरु नवराज विष्ट, नवराज सिवाकोटी तथा कान्छा बज्राचार्य एमाले प्रवेश गरेका छन् । उनीहरुसँगै ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका नेकपामा माओवादी तथा नेपाली कांग्रेसको विभिन्न भूमिकामा रहेका अगुवा नेता कार्यकर्ता एमालेमा समाहित भएका एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए । २०१५ सालको आमनिर्वाचनमा देशभरमा कम्युनिष्टले जम्मा ४ सिटमा विजय हासिल गर्दा ललितपुरबाट १ सिट प्राप्त गरेकोले ललितपुरमात्र नभई देशकै कम्युनिष्ट आन्दोलनको अगुवाई र देशको अगुवाई नेकपा एमालेले मात्र गर्न सक्ने बताए ।
कार्यक्रममा सम्बोधन गर्दै नवप्रवेशी सरोज डंगोलले कम्युनिष्टको किल्ला रहेको ललितपुरमा नेकपा एमाले कम्युनिष्टको प्रमुख नेतृत्वकर्ता भएकाले एमालेलाई देशको मुख्य शक्ति बनाउनुपर्नेमा जोड दिए ।
ललितपुर महानगरका उपप्रमुख पदका प्रत्याक्षी तथा नवप्रवेशी बाबुराजा बज्राचार्यले आफु सधै कम्युनिष्टको एकतामा प्रतिवद्ध रहेकोले नेकपाकै निरन्तरताको रुपमा एमाले प्रवेश गरेको जानकारी दिनुभयो । जिल्ला बचत संघ अध्यक्ष तथा नवप्रवेशी रामहरी बजगाईंले विगत लामो समयदेखी संवादबाट एमालेमा आवद्ध भई सिंगो ललितपुर कम्युनिष्टमय बनाउने वातावरण बनेको भाव व्यक्त गरे ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको हलमा सम्पन्न उक्त कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित उनकी धर्मपत्नी राधिका शाक्य, नेकपा एमाले पोलिटव्यूरो सदस्य शुसिला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, निवर्तमान संघीय सांसद नवराज सिलवाललगायतले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।




















