काठमाडौं । नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको जनाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कोषमा अहिले ६९ अर्ब रकम पुगेको जनाएको हो ।
कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले गत वर्षको तुलनामा यस वर्ष कोषको रकम ६ अर्ब रुपैयाँले बढेको जानकारी दिएका छन् । त्यस्तै आर्थिक बर्ष २०७८÷७९ मा कल्याणकारी सेवा सुविधातर्फ कुल १५ अर्व ४९ करोड खर्च भएको उनले बताए ।
त्यस्तै उनले सोही आर्थिक बर्षमा संस्थान अन्तर्गतका महाविद्यालयहरुमा अध्ययनरत १ हजार ६ सय ४५ बिद्यार्थीहरुमध्ये सैनिकतर्फका २ सय १८ विद्यार्थी र गैह सैनिकतर्फका १५० बिद्यार्थीहरुले ९ करोड ११ लाख ३९ हजार छात्रवृत्ति रकम प्रदान गरेको थापाले बताएका छन् ।
त्यस्तै पत्रकार सम्मेलनमा सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सम्पन्न गर्न बिभिन्न कठिनाई भएको जनाएको छ । आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले जग्गा विवाद, अदालतमा विभिन्न मुद्धा परेका कारण समस्या भइरहेको बताएका छन् । उनले गत आर्थिक बर्षमा ८ अर्व ४२ करोड बिनियोजना भएकोमा बार्षिक लक्ष्यको अनुपातमा करिव ९९ प्रतिशत काम भएको जानकारी दिए ।
त्यस्तै पत्रकार सम्मेलनमा सेनाका बिभिन्न निर्देशनालयले गरेका कामका बारेमा जानकारी गराइएको थियो ।
























