काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाएको छ । प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस लागू गर्न लागेसँगै अवैध मोबाइलमा प्रतिबन्ध लाग्न लागेको हो ।
विदेशबाट अवैध रुपमा आयात भएका मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउने उद्देश्यसहित प्राधिकरणले आजदेखि एमडीएमएस कार्यान्वयन गर्न थालेको जनाएको छ । यसअघि आयात भएका मोवाइलहरु स्वत दर्ता भएको र अब देखि ल्याइने मोवाइल दर्ता हुनुपर्ने प्राधिकरणले जनाएको छ ।
आज दिउँसो ललितपुरमा एक कार्यक्रम गरेर प्राधिकरणले एमडीएमएस कार्यान्वयनको सुरुवात गर्ने जनाएको छ ।
मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्न तथा चोरी भएका र हराएका मोबाइल फोनको ट्र्याकिङ तथा ब्लकिङ गरेर चल्न नमिल्ने बनाउनको लागि यो प्रणाली लागू गरिएको प्राधिकरणले एक सूचना जारी गरी जनाएको हो ।
अब मोबाइल किन्दा दर्ता भए नभएको यकिन गरेर मात्रै किन्न पनि प्राधिकरणले आग्रह गरेको छ । अब विदेशबाट किनेर वा उपहारका रुपमा आएका मोबाइलको अनिर्वाय आईएमईआई दर्ता गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।