काठमाडौं । नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि खड्का निर्विरोध चुनिएका हुन् ।
त्यस्तै उपाध्यक्षमा उदय सुब्बा र दीपेन्द्र के खनाल निर्विरोध निर्वाचित भएका छन् भने महासचिवमा सुनिलकुमार थापा निर्वाचित भएका छन् ।
सचिवमा किसान पोखरेल र कोषाध्यक्षमा ज्योतिराज राई समेत निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा माओत्से गुरुङ, ज्ञानेन्द्र देउजा, खगेन्द्रप्रसाद लामिछाने, रामबाबु गुरुङ, किरण नेपाली र शेखर लामा चुनिएका छन् ।
नवनिर्वाचित अध्यक्ष खड्काले नेपाली फिल्मलाई प्राइम टाइमको शो उपलब्ध गराउन पहल गर्ने र सर्भर चार्ज, विज्ञापन तथा पोस्टरको नाममा अनावश्यक आर्थिक बोझ बोकाउने कार्यविरुद्ध पनि आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले नेपालभित्रै नेपाली फिल्मलाई रक्षात्मक स्थितिमा पुग्ने अवस्था दुखद भएको भन्दै त्यसको अन्त्य गर्नु आफ्नो मुख्य प्राथमिकता हुने बताएका छन् ।
नयाँ कार्यसमिति निर्विरोध भएपनि औपचारिक घोषणा भने गरिएको छैन । शनिबार हुने १६ औं वार्षिक साधारणसभामा औपचारिक घोषणा हुने बताइएको छ ।
अध्यक्ष खड्काले उम्मेदवारी घोषणा गर्दा गरेका प्रतिवद्धता यस्ता छन् –
• पेशागत हकहितका लागि सदैव अग्रसर रहने,
• संघको लागि जग्गा प्राप्ति र भवन निर्माण गर्नु,
• राष्ट्रिय चलचित्र नीति २०७१ कार्यन्वयन गराउनु,
• विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगहरूमा सांस्कृतिक सहचारी दुत नियुक्त गरी चलचित्र प्रदर्शन गर्ने सरल अवस्था बनाउनु,
• चलचित्रलाई सेवामूलक होइन पूर्ण उद्योगमा मान्यता दिलाउनु,
• चलचित्र विकास बोर्ड ७ वटै प्रदेशमा खोल्न पैरवी गर्दै चलचित्र निर्माणका लागि ईजाजत पत्र लगायत आवश्यक सम्पुर्ण प्रक्रियालाई सरल, सहज तथा मर्यादित हुने व्यवस्था मिलाउनु,
• सबै प्रदेशमा छायाङ्कन स्थल/स्टुडियो तथा चलचित्र प्रज्ञा प्रतिष्ठानको स्थापना गर्नु,
• चलचित्र विकास बोर्ड र सेन्सर वोर्ड लगायतमा चलचित्र निर्माता संघको प्रतिनिधित्व हुने सुनिश्चित गर्नु,
• बक्स अफिसलाई अझ सक्रिय तथा पारदर्शी बनाउन दवाव दिई निर्मातालाई आर्थिक तवरले संरक्षण हुने व्यवस्था गर्ने,
• नेपालीहरुका प्रमुख चाडबाडहरु र प्राइम–टाइममा नेपाली चलचित्र प्रदर्शन गर्नुपर्ने बाध्यकारी व्यवस्था गराउनु,
• जसरी बक्स अफिसको निर्माण भएको छ, त्यसरी नै चलचित्र विकास बोर्डसँगको सहकार्यबाट सर्भरको निर्माण गरी निर्मातालाई आर्थिक तरिकाले संरक्षण गर्ने,
• चलचित्र प्रदर्शनका लागि इनकोडिङ गराउँदा लाग्ने शुल्कलाई मिनाहा गर्न वा शुल्क कम गर्ने,
• चलचित्र घरमा प्रदर्शन गरिएको चलचित्रबाट प्राप्त आम्दानीको शेयरबाँडफाटमा बृद्धि गर्नु,
• चलचित्र घरमा प्रदर्शन गरिने फिल्मका होर्डिङ–बोर्ड, पोष्टर, हल–एड लगायतमा नेपाली चलचित्र निर्माता संघले खप्नु परेका असमान व्यवहारलाई न्यायसंगत बनाउनु,
• नेपाली फिल्मलाई सम्भावित विदेशी बजारमा पुर्याउनका लागि तत् तत् भाषामा डब गर्ने र विदेशमा रिलिज गर्ने वातावरणको सृजना गर्नु,
• ओटिटि प्लेट फोरम (OTT Plate Forum) को खोजी गर्नु,
• आदिवासी, जनजाति तथा सिमान्तकृतका विषयमा बनेका चलचित्रलाई संरक्षण, प्रदर्शन प्राथमिकता दिनका साथै सरकारबाट अनुदानको स्थायी–नीतिगत व्यवस्था गराउन पहल गर्ने,
• यस्ता चलचित्रहरुलाई प्रोत्साहन दिन महिनामा कम्तीमा दुई सो प्रदर्शन हुने व्यवस्था मिलाउने, यसका लागि चलचित्र घरसँग सहकार्य गर्ने,
• घुम्ती चलचित्र (घर) लाई सम्भाव्य स्थलहरुको पहिचान गरी चलचित्रलाई आम जनताको विचमा पुर्याउन चलचित्र विकाश बोर्डसँग सहकार्य गर्ने,
• चलचित्र विकास बोर्ड अन्तरगतको स्टोरी बैंकलाई त्यसको उद्देश्य अनुरुप परिणाम ल्याउन सकृय तथा क्रियाशील बनाउने,
• बन्द हुन लागेका सिनेमा घरहरुलाई संरक्षण तथा सुचारु सञ्चालनका लागि नेपाल चलचित्र संघसँग सहकार्य गर्ने,
• प्रोजेक्ट विमालाई सरलीकरण गर्ने र चलचित्रकर्मीलाई विमाको व्यवस्था मिलाउने,
• प्रोजेक्ट लोनको सुविधा लिन बैङ्कसँग सहकार्य गरी ऋण लिने व्यवस्था मिलाउने,
• चलचित्र रिलीजको समयमा विभिन्न सञ्चार माध्यमबाट विज्ञापनलाई सस्तो सुन्दर र व्यवस्थित गराउने। र यसका लागि ती माध्यमसँग समझदारी कायम गरी निश्चित छुटको व्यवस्था गर्ने,
• नेपाली चलचित्रलाई विश्व बजारमा पु¥याउन राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्ध–सम्पर्कलाई बढावा दिन महोत्सव, गोष्ठी, पुरस्कार ,सम्मान आदि समारोहको आयोजना गर्ने तथा अन्तर्राष्ट्रिय बजार व्यवस्थापनमा/व्यवस्थापकसँग सहकार्य गर्ने,
• म्यानमार, चीन, भारत तथा सम्भावना भएका मुलुकहरु तथा विश्वमा विस्तारित नेपाली राष्ट्रबीचमा बजारलाई व्यवस्थित गर्न पहल गर्ने,
• प्रत्येक विदेशमा रहेका दुतावासमा चलचित्र प्रदर्शनका लागि जिम्मेवार शाखा खोल्ने र सो शाखालाई सक्रिय बनाउने,
• नेपाली चलचित्रसम्बन्धी पाठ्य–पुस्तक बनाई कलेजस्कुलमा अध्ययन गराउन पहल गर्ने,
• विदेशी चलचित्रहरुले नेपाली संस्कृतिमा पारिरहेको नकारात्मक असर रोक्न तिनीहरुको प्रदर्शनलाई हतोत्साह गर्न कर बृद्धि गर्ने ।