काठमाडौं । सुनको मूल्य एकै दिन तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । महासंघकाअनुसार सुनको मूल्य ओरालो लागेको यो लगातार पाँचौं दिन हो ।
आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ, तेजावी सुनु मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य एक हजार १३० रुपैयाँ प्रतितोला कायम भएको छ ।
मंगलबार ९४ हजार ८ सय रुपैयाँमा छापावाल, ९४ हजार ३ सय रुपैयाँमा तेजावी र एक हजार १४५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । महासंघका अनुसार भदौ ९ यता सुनको मूल्य निरन्तर घटेको छ ।
९ भदौमा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १५ भदौसम्म आइपुग्दा तोलामै १८ सय रुपैयाँले घटेको छ ।
यस्तै चाँदीको मूल्य पनि ९ भदौयता निरन्तर ओरालो लागेको छ । सो दिन प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ भदौमा आइपुग्दा ४५ रुपैयाँले घटेर एक हजार १३० रुपैयाँमा आइपुगेको छ ।