काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्य वृद्धि नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । महँगीको मारमा परेका जनतालाई राहत दिन सरकारले चाहेमा यो काम गर्न सक्ने सिंहले बताए ।
आज बिहान काठमाडौँ महानगरपालिका वडा नम्बर १० मा आयोजित सामुदायिक सभाहल उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले स्वचालित मूल्य प्रणाली लागू गरेर इन्धनको मूल्य समायोजन गर्नुपर्ने बताएका हुन् ।
इन्धनको मूल्य समायोजनप्रति आफ्नै पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकारको ध्यानाकर्षण गराउँदै नेता सिंहले भने, ‘अटोमेटिक प्रासिङ सिस्टम त छँदैछ, उपभोक्तालाई मारमा पार्दिनु भएन, सरकारले अलिकति पहल गर्नुपर्यो ।’
स्वचालित मूल्य प्रणाली लागू गरिए पनि अन्तर्राष्ट्रिय बजारमा ३ पटकसम्म इन्धनको मूल्य घट्दा समेत नेपाल आयल निगमले मूल्य घटाएको छैन। यसबाट सरकारको आलोचना समेत भइरहेको छ ।
उनले सरकारका काम कारबाही तल्लो तहका समुदायले राहत महसुस गर्नुपर्ने खालको हुनुपर्ने बताए । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको काममा पनि समुदायलाई सहभागी गराउनुपर्ने उनको मत छ । उनले काठमाडौँ महानगरपालिकालाई फोहोरको दीर्घकालीन व्यवस्थापनको उपाय खोज्न पनि सुझाव दिएका छन् ।
फोहोरमा राजनीतिकरण भएकोमा विरोध जनाउँदै उनले महानगरपालिका, वडा वा सरकारले गर्ने कामहरूमा राजनीतिकरण गर्न नहुने धारणा राखे। ‘हामीले गरेका कामबाट समुदायले राहत महसुस गर्नुपर्छ। यसलाई राजनीतिकरण गर्नु हुँदैन,’ नेता सिंहले भने ।
























