काठमाडौँ । अर्थमन्त्रीमा पुनः नियुक्त भएका जनार्दन शर्माले आजै सपथ लिने बताइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीले शर्माको नाम राष्ट्रपति कार्यालय शीतल निवास पठाएपछि राष्ट्रपतिबाट आजै उनले पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । राष्ट्रपति कार्यालयले भने सपथ ग्रहणको खबर नआएको जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।
छानबिन गर्न बनेको संसदीय विशेष समितिले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।
समितिमा रहेको एमालेका सांसदहरुले भने सत्ता पक्षका सांसदहरुका कारण छानविन पूर्ण हुन नसेको बताएका छन् । उनीहरुले प्रतिवेदनमा फरक मत पेश गर्दै शर्मालाई निर्दोष भन्न नसकिने स्पष्ट पारेका छन् ।




















