काठमाडौं । नेपाल प्रहरीको आइजीपी नियुक्ति विवाद मुद्दाको जवाफी बहस समाप्त भएको छ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस भएसँगै सर्वोच्चले आजै फैसला सुनाउने तयारी गरिएको छ ।
निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।
मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ भएको हो । केही हप्तादेखि आइजीपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ चलिरहेको थियो ।
आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले उनलाई छोडेर धीरजप्रताव सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।
यसअघि १९ असारमा सर्वोच्चमा सिंहको पक्षमा बहस भएको थियो । सिंहको पक्षमा भएको सरकारको निर्णयको बचाउमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त, रामनारायण विडारी, तुलसी भट्ट र अधिवक्ताहरू भिमार्जुन आचार्य, टीकाराम भट्टराई र दीपेन्द्र झा लगायत १८ जनाले बहस गरेका थिए।
त्यसपछि २६ असारमा पेसी तोकिए पनि सिंह पक्षका कानुन व्यवासायीको निवेदनपछि आज शुक्रबारका लागि सारिएको थियो।
पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।
























