काठमाडौं । नेकपा एमालेका राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले संवैधानिक परिषदसम्बन्धी सरकारले प्रस्तुत गरेको संशोधन विधेयकप्रति सभामुख अग्निप्रसाद सापकोटाको धारणा माग गरेका छन् ।
सरकारले केही दिनअघि राष्ट्रिय सभामा दर्ता गराएको संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधन विधेयक केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशकै व्यवस्थाअनुसार ल्याएको छ । ओलीले ल्याएको अध्यादेशविरुद्ध सभामुख सापकोटाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सो मुद्दा हाल विचाराधिन छ ।
सो मुद्दाको स्मरण गर्दै सांसद दाहालले आजको राष्ट्रियसभा बैठकमा सभामुखको धारणा फेरियो कि पुरानै छ भन्ने प्रश्न गरेका हु्न ।
वर्तमान सरकारसँग नैतिकता नरहेको आरोप लगाउँदै सांसद दाहालले शून्य समय र विशेष समयमा प्रस्तुत विषयहरुको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि मन्त्रीहरुले जवाफ नदिएको भन्दै आलोचना गरेका छन् ।
दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अड्किएर रहेका तथा विचाराधीन विधेयकहरुलाई हेर्ने गरी दुवै सदनमा अनुगमन, सुपरीवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने मा पनि गरेका छन् ।
सांसद दाहालले सरकारको बेवास्ताका कारण संसदमा विधेयक र कानूनहरु अलपत्र परेको बताएका छन् ।























