काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारका कारण देश श्रीलंकाको बाटोतर्फ लागेको बताएका छन् । उनले यसकारण सबैजना सतर्क हुनुपर्ने अवस्था आएको बताए ।
सोमबार पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले यस सरकारका अर्थमन्त्रीले अनाधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको बताए ।
बजेट निर्माणमा अनाडि मान्छेहरू सम्लग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोडघटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ थियो ।
कर दर, अन्तशुल्क छुट दिने जस्ता विषयमा अनाधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्नेगरी, अवान्छित तत्वहरूको हात घुसाउने काम गरेको आरोप उनले लगाए ।
























