काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि लक्ष्यभन्दा माथि गएको भन्दै त्यसलाई नियन्त्रण गर्न व्याजदर बढाउनु पर्ने बताएका छन् ।
प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको बताएका छन् ।
‘विकसित मुलुकहरूमा न्यून मुद्रास्फीति हुने गरेकोमा २०२२ मा बढेर ५.७ प्रतिशत पुग्ने अनुमान छ । २००८÷०९ को मन्दीमा पनि नभोगेको मूल्य वृद्धि विश्व अर्थतन्त्रले भोगेको बताउँदै गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन भएको बताए ।
मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकको लिएको बताउँदै गभर्नर अधिकारीले हामीले पनि त्यसमा ध्यान दिनुपर्ने देखिएका बताएका छन् ।
चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चिती घटेको बताउँदै गभर्नर अधिकारीले ६ महिनाभन्दा बढीको आयात धान्न सकिने भएकाले नराम्रो स्थिति नभए पनि जोखिम भने रहेको बताएका छन् ।
अहिले नेपाली मुद्रा ७ प्रतिशतको अवमूल्यन भएको बताउँदै उनले आयात बढ्नुमा केही अंश परिमाणको कारण भए पनि मुख्य मूल्य वृद्धि रहेको बताएका छन् ।
रेमिट्यान्स पछिल्लो महिनामा सुधार हुँदा नेपाली र अमेरिकी डलर दुवैमा गत आर्थिक वर्षकोभन्दा बढी हुने देखिने गभर्नर अधिकारीले बताएका छन् ।
तरलता व्यवस्थापन गर्न तीन खर्बभन्दा बढी अहिले पनि राष्ट्र बैंकले बजारमा पैसा पठाएको बताउँदै गभर्नर अधिकारीले देशको अवस्थाअनुसारकै मौद्रिक नीति आउने स्पष्ट गरेका छन् ।























