काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने दावी गरेका छन् । आज ललितपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने बताएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले यस कुरालाई गम्भिर तरिकाले लिएको बताउँदै फिर्ता गर्ने बताएका थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए । ६ जनाको सम्वैधानिक परिषदमा वहुमत उपस्थितिमा वैठक बस्न सक्ने र ५० प्रतिशतले निर्णय गर्न सक्ने गरी देउवाले विधेयक राष्ट्रिय सभामा दर्ता गराएपछि चौतर्फी विरोध हुँदै आएको छ ।
‘पूर्ववर्ति सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा कांग्रेसले गलत भन्यो, संविधान विपरीत भएकाले मान्दैनौं भनेर कांग्रेसले भन्यो, सभापति त्यो बैठकमा भाग लिन नै जानुभएन,’ थापाले भने, ‘हिजो गलत भनेको कुरालाई आज हामीले सही भन्न सक्दैनौं, पाउँदैनौं । हिजो गलत थियो भने आज पनि गलत छ ।’
प्रचलित कानुनभन्दा फरक तरिकाले राष्ट्रिय सभामा संवैधानिक परिषद सम्बन्धी विधेयक दर्ता हुनु गलत भएको आफूहरुले प्रधानमन्त्रीलाई भनिसकेको र उनले फिर्ता लिने प्रतिवद्धता जनाएको थापाले बताएका छन् ।
त्यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पूर्ववत सरकारले ल्याएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधानसहित संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री देउवाको गम्भीर जवाफदेहीता जरुरी रहेको बताएका छन् ।
आज सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर जवाफदेहीता जरुरी छ ।’
























