काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिका सदस्य एवं नेकपा (एमाले) का सांसद खगराज अधिकारीले पूर्व अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा नियम, कानूनहरुको पालना नगर्नु अक्षम्य अपराध रहेको बताएका छन् । उनले कानून र संविधानभन्दा माथि व्यक्ति नहुने भन्दै संविधानको सर्वोच्चतालाई कायम गरेर अनुसन्धान गर्ने बताए ।
बिहीवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरुलाई कसैलाई दोषी करार गरेर बदला लिनु नपरेको उल्लेख गर्दै पूर्वाग्रह राखेर काम नगर्ने स्पष्ट पारे । उनले भने, ‘छानबिन गर्नुपर्ने सबै कुराको छानबिन गर्छौं । सञ्चार क्षेत्रले पनि तथ्य प्रमाण उपलब्ध गराउनुप-यो । कसैलाई दोषी करार गरेर हामीले बदला लिनु छैन । कोही दोषी फलानो होस् भन्ने कुरा होइन, सिस्टमलाई हामीले कसरी सम्हाल्ने र सिस्टमप्रतिको विश्वसनीयता कसरी जनसमथर्नमा कायम गरिरहने भन्ने नै हाम्रो मुख्य विषय हुन्छ । जसले त्यो ठाउँमा भएर राज्यको प्रतिनिधित्व गर्दा नियम, कानूनहरुको परिपालना गरेन । त्यो नगर्दाखेरी र बलमिच्याँई गरेर ठाडो चुनौती दियो । त्यो कुरा अक्षम्य थियो । व्यक्ति कानूनभन्दा माथि हुँदैन । संविधानभन्दा माथि कोही पनि होइन । यो कुराको सर्वोच्चता कायम गर्ने गरेरै हामी अनुसन्धान गर्छौं । कसैलाई दोषी करार गर्ने पूर्वाग्रहसाथ काम गर्दैनौँ ।’
त्यसैगरी संसदीय छानबिन समितिका सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले समितिको पहिलो बैठक बोलाउने काम संघीय संसद सचिवालयको भएको बताए । उनले सचिवालयले पहिलो बैठक बोलाएपछि संयोजक तोकेर र कार्यविधि बनाएर काम अगाडी बढाउने बताए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न ११ सदस्यीय छानबिन समिति निर्माण गरेको थियो ।




















