काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरु राखेर करको दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना हुँदै आएको थियो । सो प्रकरणबारे आज संसदले ११ सदस्यीय छानविन समिति पनि बनाएको छ ।
संसदमा सम्वोधन गर्दै अर्थमन्त्री शर्माले आफूमाथि लागेका आरोप झुटो भएको बताएका छन् । उनले छानविनमा सहयोग गर्नका लागि आफूले राजीनामा दिएको बताएका छन् ।
विपक्षी दल नेकपा एमालेले अर्थमन्त्री शर्माले राष्ट्रघात गरेको भन्दै राजीनामाको माग माग गरेको थियो । त्यस्तै सत्तारुढ दल कांग्रेस, नेकपा एसलगायतका पार्टीका नेता तथा नागरिक समाजका व्यक्तित्वहरुले समेत अर्थमन्त्री शर्माले राजीनामा नदिए प्रधानमन्त्रीले वर्खास्त गर्नुपर्ने माग गरेका थिए । चौतर्फी दवावमा परेका प्रधानमन्त्रीले वर्खास्त गर्न सक्ने सम्भावना बढेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

























