काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । मंगलबार साँझसम्म मन्त्रालयमा रहेका सचिव मरासिनीले दुई दिन मन्त्रालयल नआउने जानकारी गराएको स्रोतले जनाएको छ ।
सचिव मरासिनी दुईदिने लागि स्वास्थ्य चेकजाँच गरेर मन्त्रालय आउने जानकारी गराएको उनको सचिवालय सदस्य भुवन ज्ञवालीले बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मा पछिल्लो समय विवादित भइरहँदा अर्थसचिव स्वास्थ्यको बहाना बनाएर विदामा बसेको आशंका मन्त्रालयका कर्मचारीहरुले गरेका छन् ।
बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्री जनादर्न शर्माले अनाधिृकत व्यक्तिलाई संलग्न गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानविन समिति बनाउन माग गर्दै आएको छ । सरकारले छानविन समिति गठन गर्न आलटाल गरेपछि एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेको छ । नेपाली कांग्रेसका नेताहरुले पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने नत्र प्रधानमन्त्रीले वर्खास्त गर्नुपर्ने बताएका छन । कांग्रेसका उपाध्यक्ष पूर्णबहादुुर खड्काले छानविन समिति बनाउनुपर्ने बताएका छन् भने महामन्त्री गगन थापाले अर्थमन्त्रीका बारेमा गम्भीर प्रश्न उठेको बताउँदै उनले राजीनामा दिनु नै उनको पनि हितमा हुने बताएका छन् । उनी निर्दोष भए सीसीटीभी फुटेज देखाएर प्रष्ट पार्नुपर्नेमा फुटेज मेटाउनु गम्भीर गल्ती भएको थापाले बताएका छन् ।
अर्थमन्त्रीको चर्को आलोचना भइरहँदा सो मन्त्रालयका सचिव मरासिनी मौन बस्दै आएका छन् । उनका बारेमा पनि प्रश्न उठ्न थालेको छ ।
























