काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा त्यहाँकी मेयर अम्बिका चलाउने सहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। ५ जनालाई पक्राउ गरिएको र मेयर चलाउने र नेत्र शाही आफै प्रहरी कार्यालयमा हाजिर भएको बताइएको छ ।
जेठ १७ गतेदेखि बेपत्ता शाही २१ गते बिहान कालिकास्थानस्थित कुच्चीको भीरमा मृत भेटिएका थिए।
हत्या आरोपमा पीडित परिवारले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार रहेको बताइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का डीएसपी मनोहरप्रसाद भट्ट र संघीय प्रहरी इकाइ कार्यालय कञ्चनपुरका एसएसपी जनकराज पाण्डेय नेतृत्वको टोली घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।
३० वैशाखको स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा एमाले कार्यकर्तालाई १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएका थिए ।