काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइ प्रारम्भ भएको छ ।
सोमबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा सरकारी वकिलहरुले बहस प्रारम्भ गरेका हुन् ।
उक्त मुद्दाको विपक्षी आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहसको सुरुवात गरेको सर्वोच्च प्रशासनले जनाएको छ । आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाइ भएको हो ।
यसअघि यो मुद्दामा जेठ ३० र असार ५ मा सुनुवाई भएर सोमबारका लागि हेर्दाहर्दैमा पेशी तोकिएको थियो ।