काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका मुद्दामा सडक आन्दोलन गर्ने भएको छ । एमालेले ती मुद्दाहरु उठाउँदै सम्बन्धित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।
एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी एमाले केन्द्रीय कार्यालय च्यासलमा आज बसेको संयन्त्रको बैठकले आकासिएको मूल्यवृद्धि, मलको अभाव र विद्यार्थीले पाठ्यपुस्तक नपाएको विषय अत्यन्तै संवेदनशील रहेकोले आन्दोलनमा जाने निर्णय लिएको हो ।
जनताको दैनिक समस्या विकराल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय भएको बताइएको छ । बैठकले २२ वटै जनसंगठनको तर्फबाट सरकारबाट भइरहेको जनतामारा नीतिको विरोधमा संयुक्त विज्ञप्ति निकाल्ने र लगत्तै सडक आन्दोलन गर्ने निर्णय गरिएको जनाइएको छ ।