काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयकलाई अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुटारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउने प्रस्ताव गरेको र यसलाई अघि बढाउने निर्णय भएको कांग्रेस नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन् । उनले केही प्रक्रियाहरु पूरा गरेर उक्त बिधेयक चाडै सदनमा पेश गर्ने बताएका छन् ।
शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने निर्णय गरेको जानकारी दिँदै कार्कीले बैठकमा महंगीका बारेमा पनि छलफल भएको र यसलाई नियन्त्रण गर्न थप छलफल गर्ने बताए ।
बैठकमा मन्त्रिपरिषद हेरफेरका बारेमा भने कुनै छलफल नभएको कार्कीले बताएका छन् । नेकपा एसले आफ्नो पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई फिर्ता गरेर नयाँ मन्त्री प्रस्ताव गरेको थियो । आजको वैठकमा सो बारे छलफल हुने भनिएको थियो । नेकपा एसका अध्यक्ष माधव नेपालले आज विहान पनि प्रधानमन्त्रीलाई भेटेर आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्न दवाव दिएका थिए ।